काठमाडौँ, २६ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाउँमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढी गरेको बताउनुभएको छ ।
शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएसन नेपालको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा उहाँले नीतिमा टेकेर काम गर्ने अवस्था नआएसम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक क्षेत्र आफैँमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छौँ भने त्यो क्षेत्रका नीति र कानुन चाहिन्छ । यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशील हुनुपर्छ । तर, आजसम्म हस्तक्षेपकारीे नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् । नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्विकार गर्न सक्नुपर्छ ।’
यस्तै, उहाँले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ । विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ । विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भीर हुन आवश्यक छ ।’
विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको गल्ती होइन, रोजगारीको कमि भएको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होइन, रोजगारीको कमि हो । यसको साथै नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन, राजनीतिक स्थिरता नभएसम्म राम्रो शिक्षा पाउन सकिँदैन भन्ने खालको बहस छलफल हामी जति गर्छौँ त्यति नै यहाँ विद्यार्थीहरु बस्न सक्दैनन् । हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौँ, अर्कोतिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छौँ यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ ।’