काठमाडौँ, २६ साउन । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताउनुभएको छ ।
शनिबार ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरे पनि साधारण व्यक्तिलाई गरे पनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरु छन्, कोही राज्य विरुद्धका अपराध छन् । तर, बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’
साथै उहाँले अहिलेको विधेयक पीडितमैत्री भएको बताउनुभयो । उहाँले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताउनुभयो । यस्तै, गृहमन्त्रीले कानुन जस्तोसुकै भए पनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउनुभयो। उहाँले पीडकको पीडा पीडितले मात्र बुझ्ने दाबी गर्नुभयो ।