राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक छ : मन्त्री पाण्डे

19

काठमाडौँ, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार ३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुलाई थप समावेशी बनाउनका लागि संविधानले मान्यता दिएका आयोगहरुले विकल्प दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी बनाउन के उपाय अपनाउनुपर्ला ? अहिले भइरहेको प्रतिनिधि सभाको समानुपातिक प्रणालीलाई अझ सिर्जनशील बनाउन के उपाय अपनाउनुपर्ला ? प्रदेश सभा र स्थानीय तहसम्मलाई समावेशी बनाएका छौँ, समानुपातिक बनाएका छौँ । यसलाई अझै समावेशी र सिर्जनशील बनाउनका लागि आदिवासी जनजाति जस्ता आयोगहरुबाट योजना र मरामर्श लिएर काम गर्नुपर्छ ।’

संंविधानले मान्यता दिएका सम्प्रदायिक आयोगहरुले भावावेशमा आएर नभइ तथ्य र तथ्यांकमा विकल्प दिन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, मन्त्री पाण्डेले आदिवासी जनजातिको हक र अधिकार संरक्षण गर्नेतर्फ नेपाल सरकार प्रतिवद्धताका साथ अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

नेपालभित्र रहेर मात्र नभइ संयुक्त राष्ट्रसंघ र मित्र राष्ट्रहरुसँग पनि पहलकदमी गरेर आदिवासी जनजातिको सम्मान र अधिकारका लागि सरकार अन्तर्राष्ट्रिय रुपमा पहलकदमी गर्न सक्रिय रहने समेत विश्वास दिलाउनुभयो ।

‘विश्वव्यापीकरणको दुनियामा नेपालभित्र मात्र सीमित रहेर होइन, संयुक्त राष्ट्रसंघ, मित्र राष्ट्रहरुसँग पनि पहलकदमी गरेर आदिवासी जनजातिको सम्मान र अधिकारका लागि सरकारले पहलकदमी लिने विश्वास दिलाउन चाहन्छु । नेपालमा अझै पनि जातजाति र प्रकृतिको विविधता रहेको छ । संस्कृति र प्रकृतिको विविधता सुन्दर अनुम हो । यो अरु कसैले प्राप्त गर्न सक्दैन,’ उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...