अनलाइन ठगी गर्ने ९ जना भारतीय नागरिक प्रकाउ

13

हेटौँडा, २३ साउन । हेटौँडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार हेटौँडा उपमहानगरपालिका-४ पारिजातपथमा ‘मेडि असिष्ट’ नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो । छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार , २६ वर्षीय आशिष कब्डौला , ३४ वर्षीय विशाल कक्कड , ३८ वर्षीय लोकेश कुमार दुवे, २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन् । पक्राउ परेका सबै भारतका विभिन्न राज्यका बासिन्दा हुन् ।

छापाका क्रममा प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, १३ थान मोबाइल, हार्ड डिस्क, राउटरलगायतका उपकरणहरू बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्यअनुसार यो गिरोहले गत वर्ष फागुन १० गते हेटौँडा उपमहानगरपालिकामा द्रबिन कुमार सिंहको नाममा ‘मेडि असिष्ट’ कम्पनी दर्ता गरेको थियो । कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भए पनि वास्तवमा अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

यस कम्पनीमा १२ जना भारतीय नागरिकहरू कार्यरत रहेको र तीमध्ये ३ जना फरार रहेको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा यो गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको “द्रुत कल क्लाइन्ट सफ्टवेयर” प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताउनुभयो । यस सफ्टवेयरमार्फत् नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको उहाँले बताउनुभयो ।

प्रहरीले यस घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसुर मानेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...