औषधि खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा

26

काठमाडौँ, २६ असार । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत र सूचना अधिकारी छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्तासँगै उनी निलम्बनमा परेका छन् ।

आव २०७४/७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेसनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो। उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेस गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ ।

औषधि खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले उनी दुवै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक बोधराज पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।

झुट्टा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो ।

पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आरोप लागेको छ । यसैगरी धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको हो । झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्रसम्बन्धी आरोप उनीमाथि छ ।

साथै अख्तियारले बरमझिया स्कुलमा वि.सं) २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेस गरी नियुक्ति भई तलब भत्ता खाएको अख्तियारको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...