काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोल्न नसकेको आरोप लगाउनुभएको छ ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ को दोस्रो सम्मेलनमा उहाँले गिरीबन्धु टी–इस्टेट फाइल खोल्यो भने गठबन्धनको सबैभन्दा ठुलो पार्टीले सरकारप्रतिको समर्थन फिर्ता लिने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पद पनि जाने कारण सत्ता नै समाप्त हुने गरी भ्रष्टाचारको फाइल खोल्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन बाँकी छ । विभिन्न विषयहरु उठेका छन् । तर, गिरीबन्धु टी–इस्टेटलाई त अदालतले फैसला गरिसकेको छ नि । भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई अब गिरीबन्धु टी–इस्टेटे फाइल खोल्न के गाह्रो भयो त ? अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठुलो पार्टीले सरकारप्रतिको समर्थन फिर्ता लिन्छ । त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पनि जान्छ । त्यसैले भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेको सत्तामा जानका लागि हो, सत्तामा गएपछि सत्ता नै समाप्त हुने गरी यहाँ भ्रष्टाचारको फाइल खोल्नेवाला छैन ।’
उहाँले गृहमन्त्रीले संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनेर आफ्नो पदको मर्यादाको समेत ख्याल नराखेको टिप्पणी गर्नुभयो । उहाँले सरकारमा बसेर मनलाग्दी ढंगबाट जे पनि बोल्न नमिल्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,‘आज सरकारको उपप्रधानमन्त्रीले रोष्ट्रममा उभिएर म उपप्रधानमन्त्री हुँ मर्यादा राख्नुपर्छ भन्ने सम्म पनि ख्याल नराखेको स्थिति छ । संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनिसकेपछि गृह मन्त्रालयले यो देशबाट कसले सूचना बेचेको छ भन्ने कुरा थाहा पाउनसक्छ, त्यसको नेतृत्वले भनेपछि त्यो नभएको कुरा हुँदैन, भएको कुरा हुनुपर्छ । सडकको जस्तो जिम्मेवारी नभए जस्तो मनलाग्दी ढंगबाट जे पनि बोल्न सरकारमा बसेर मिल्दैन ।’