श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

13

काठमाडौँ, ६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उहाँको जिकिर थियो । विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाइ थियो ।

‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्, ’ उहाँले भन्नुभयो ।

कुनै एउटा मात्रै उद्योग चलाएर दशौँ हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बैठकमा बोल्दै उहाँले रोजगारीका अवसर बढाउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कुनै एउटा उद्योग सञ्चालन गर्दैमा दशौँ हजारले रोजगारी पाउँदैनन् । तर, हामीले साना व्यवसायलाई संरक्षण गर्दै, साना, मझौला र ठुला उद्योगहरुलाई सञ्चालन गर्न सक्यौं भने मात्र धेरैभन्दा धेरैका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । अहिले केही अनलाइन व्यवसायले समेत रोजगारीको अवसर सिर्जना गरेका छन् । वैध बाटोबाट यसरी रोजगारी सिर्जना गर्ने कम्पनीलाई सरकारले पुरस्कृत समेत गर्नुपर्दछ । हामी बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि प्रयासरत छौँ । भर्खरै श्रमधान मेला समापन गरेका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...