बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनःगठनको विकल्प छैन : अग्नि सापकोटा [भिडिओ]

52

काठमाडौँ, ६ असार । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनःगठनको विकल्प नरहेको बताउनुभएको छ ।

राजधानीको संवाद डबलीमा ४७औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३औँ किसान संघर्ष दिवसको अवसरमा बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले समाजवादी व्यवस्थाका लागि कम्युनिस्टहरुको बलियो उपस्थिमा मात्रै सम्भव हुनेसमेत बताउनुभयो ।

जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिस्टहरु एकताले मात्रै जनताको सपना पूरा गर्ने सापकोटाको भनाइ छ ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतालई व्यापक मात्रामा भ्रम फैलाएको बताउँदै भन्नुभयो, ‘लोकप्रियतावादीहरुले ठुल्ठुलो स्वरमा देशभक्तिको नौटंकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो, भ्रमित हुनु हुँदैन ।’

त्यस्तै, आयोजक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान बिद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको विद्रोहको बलमा धर्मराज मुल्मीको सबै मालसामान कब्जा गरेर जनताले बाँड्नै लागेको समयमा प्रहरीले हस्तक्षेप गरी दुईजना किसानको हत्या भयो आज पनि राज्य उस्ताको उस्तै छ ।’

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले धर्मराज मुल्मी जस्तै हजारौँ लघुवित्तीय शोषकहरुको बोलवाला रहेको आरोप लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...