कांग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति छ : देउवा

21

काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।

लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उहाँले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु । साथै, अहिले महिलाहरुको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ । त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो । विद्या भण्डारीजी दुईपटक राष्ट्रपति हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनुहुनेछ । महिलाहरुले त्यस किसिमको योग्य, सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ ।’

यस्तै, नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरुको अग्रणी भूमिका रहेका रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ । नेपालीको राजनीतिक परिवर्तनमा र भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरुको भूमिका अझ बढी प्रभावकारी र सशक्त हुने कुरामा मलाई विश्वास छ ।’

निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तिकरणको अभियान अघि बढाउनुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...