पशुपतिको भेटी चोरीका आरोपित पाँच जना पुर्पक्षका लागि कारागार चलान

25

काठमाडौँ, ६ असार । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँच जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भइ पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण थिए भने उनी काठमाडौँ–६ बस्दै आएका थिए ।

यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरु भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा– ८ बस्ने ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षीय कुमार दमाई परियार र पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौँ–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि पक्राउ उनीहरुलाई पक्राउन गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिबानाको माग दाबी गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...