कृषि सहकारीको बचत रकम अपचलन गर्ने ४ जना सार्वजनिक

27

काठमाडौँ, २ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाइ उनीहरुको रकम अपचलन गरि फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसमेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहकी छिन् । उनी पनि हाल गोकर्णेश्वर बस्दै आएकी हुन् ।

यस्तै, सहकारीका सञ्चालक सदस्य र सदस्य, ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौँ महानगरपालिका कीर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौँ महानगरपालिका ६ का बासिन्दा थिए ।

उनीहरुलाई जेठ ३२ गते काठमाडौँका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो ।

उनीहरुको साथमा मोबाइल थान ६ वटा, पेनड्राइभ तीनवटा, हस्ताक्षरसहितको चेक थान ३, इको भ्यान, सहकारीको छापलगायतका सामानहरु बरामद भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...