रुकुम हत्याकाण्डको ४ वर्ष पूरा : सुर्खेतमा आज बृहत् दलित जागरण सभा

12

काठमाडौँ, १० जेठ । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको ४ वर्ष पूरा भएको छ ।

१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर विहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए । कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए ।

घटनामा नवराजसहित चार दलित र दुई गैरदलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए । सो हत्याकाण्डमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमो मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने ८ जनालाई सफाई दिएको थियो । अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए । जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो ।

घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नोे अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो ।

विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए ।

जातीय भेदभाव र छुवाछुतकै कारण यति ठुलो घटना भएको र घटनामा संलग्नले अदालतबाट न्याय पाएपनि समाजमा अझै पनि उस्तै सामाजिक व्यवस्था रहेको भन्दै सो दिनलाई सामाजिक न्यायका पक्षधरहरूले कालो दिनकारुपमा लिने गरेका छन् भने अधिकारकर्मीहरूले प्रतिरोध दिवसकारुपमा मनाउने गरेका छन् ।

जेठ १० को त्यही घटनालाई स्मरण गर्दै बिहीबार काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम हुँदै छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सो घटनाका पीडितका आफन्तहरू समेतको उपस्थितिमा विशेष दलित जागरण सभा हुँदै छ । दलितका लागि दलित आन्दोलनले बिहीबार वीरेन्द्रनगरस्थित घण्टाघरमा बृहत् सभा गर्दै छ । सभामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा नवराजसहित छ जना युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्णालीमा अन्तरजातीय विवाह गर्ने दम्पतीहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।

दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारले जागरण सभामा देशभरिबाट दलितहरूको सहभागिता हुँदै गरेको बताउनुभयो । ‘जेठ १० को त्यो हत्याकाण्ड एउटा घटना वा हत्याकाण्ड मात्रै थिएन, त्यसले देशको १५ प्रतिशत जनसंख्या भएको समुदायमाथि शताब्दीऔँदेखिको अन्याय र विभेदको स्वरुपलाई छताछुल्ल बनाएको थियो । सामाजिक न्याय र सद्‌भाव चाहने समुदायमाथि प्रहार भएको थियो,’ सुनारले भन्नुभयो, ‘त्यसकारण पनि नवराजहरुको मृत्यु सामान्य होइन, हुन सक्दैन । यो हामीले भुल्न सक्ने, भुल्न मिल्ने घटना होइन ।’

उहाँले नवराजलाई अदालतले न्याय दिएको, तर मुद्दा भने बल्ल सुरुवात भएको बताउनुभयो । ‘नवराज विक र उनका साथीहरुलाई न्याय मिलेको छ । तर समाजमा जातीय भेदभाव र छुवाछुत निरन्तर छ । यस्तो कलंकित प्रथा समाजमा निरन्तर हुँदासम्म यो मुद्दा सकिँदैन,’ उहाँले भन्नुभयो ।

काठमाडौँमा जात व्यवस्था उन्मूलन मोर्चाले सोही घटनाको स्मरणमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । जात व्यवस्था उन्मूलन मोर्चा, संयुक्त दलित अधिकार मञ्च, एकीकृत दलित मुक्ति मोर्चा र नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्तरुपमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाएका हुन् । सो सन्दर्भमा बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।

Share This:
सम्बन्धित खबर
Loading...