प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति बढ्यो ?

19

काठमाडौँ, ८ जेठ । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गर्नुभएको छ ।

सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको उल्लेख छ । भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा पार्किङ जग्गासहित घर छ । सो घरजग्गा स्वर्गीय पत्नी सीता दहालकको नाममा छ । उक्त घर र जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन छ । त्यो सुन पनि पैतृक सम्पति भएको विवरणमा छ । तर, २०७३ सालमा प्रधानमन्त्री हुँदा दाहालले बुझाएको सम्पत्ति विवरण र अहिले सार्वजनिक विवरणमा उहाँको पैतृक सम्पति बढेको देखिएको छ । २०७३ सालमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन देखाएका दाहालले अहिले प्रधामनन्त्री थप १४ कठ्ठा जमिन सम्पत्तिका रुपमा देखाउनुभएको छ । तर, यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गर्नुभएको छ ।

२०७३ मा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाउनुभएका प्रधानमन्त्री प्रचण्डको सुन पनि दुई तोला बढेको देखिएको छ । हाल उहाँको सुन पाँच तोला रहेको र सो सुनलाई पनि दाहालले पैतृक नै भएको उल्लेख गर्नुभएको छ ।

यस्तै, भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख छ भने उहाँको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेसँगै आज उहाँसँगै २२ मध्ये २० मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...