धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

57

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्नुभएको छ । तथ्यहीन र आधारहीन कुरा गरेर कांग्रेस सांसदहरुको मानमर्दन गरेकाले लामिछानेमाथि कारबाही हुनुपर्ने भन्दै उहाँले पत्र लेख्नुभएको हो ।

सहकारीको रकम अपचलन आरोपमा मन्त्री लामिछानेविरुद्ध छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । उक्त आरोपका सन्दर्भमा सफाइ दिन प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्री लामिछानेलाई सभामुखले बोल्ने समय दिनुभएको थियो । आफ्नो सफाइ पेस गर्ने क्रममा लामिछानेले सञ्चारमाध्यमले लेखेका भरमा व्यक्ति केन्द्रित समिति गठन गर्नुको औचित्य नभएको बताउनुभएको थियो । संसद्‌मा उनले आफू निर्दोष रहेको बताइरहँदा प्रतिपक्षका धेरै नेताहरु विभिन्न काण्डमा मुछिएको समाचारहरु आएको भन्दै आक्षेप लगाउनुभएको थियो ।

लामिछानेले ‘रोष्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरि नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरेर आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको’ गुरुङको पत्रमा छ ।

‘आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु । उहाँले बोलेका कुराहरुको अडिओ तथा भिडिओ प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ,’ उहाँको पत्रमा छ, ‘उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’

प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि गृहमन्त्री लामिछानेले पालना नगरेको गुरुङले उल्लेख गर्नुभएको छ । उहाँले लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्न माग गर्नुभएको छ । लामिछानेले रोष्ट्रमबाट कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतको २०६४ असोज २४ को फैसला प्रतिलिपि पनि निवेदनका साथ संलग्न गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...