कांग्रेसप्रति रविको टिप्पणी-‘राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’

37

काठमाडौँ, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उहाँले कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताउनुभयो । लामो रस्साकस्सीपछि सदनमा बोल्न पाउनुभएका लामिछाने प्रतिपक्षी दलप्रति आक्रमक देखिनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइनँ । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौँ वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर, सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसद्ले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौँ ।’

उहाँले टेलिभिजनमा हुँदादेखि राजनीतिसम्म नै आफू तारो भएको गुनासो गर्दै लोकतान्त्रिक दलकै निसानामा आफू रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टेलिभिजनमा हुँदा सबैको तारो भए । राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु । सारा मिडियाको पनि तारो बनिरहेको छु । लोकतान्त्रिक शक्ति हुँदा हुँदै लोकतान्त्रिक दलकै निसानामा छु । मलाई साथीहरु भन्नुहुन्छ मिडिया मिलाउनुहोस्, म भन्छु मिलाउँदिन, जनताका लागि विद्यालय मनाउन आएको हुँ नमिलेका संविधानका धाराहरु मिलाउन आएको हुँ । अनि अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरु खोल्न आएको हुँ म मिडिया मिलाउन आएको होइन, सक्दिन, मिलाउदिन ।’

उहाँले प्रतिपक्षीप्रति आक्रामक हुँदै विगतका विभिन्न काण्डमा धेरै राजनीतिज्ञहरु मुछिएको दृष्टान्त दिनुभयो । व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने दाबी उहाँले गर्नुभयो ।

उहाँले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गर्नुभयो । ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु । उहाँले भन्नुभयो, ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ ।’

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राईले गरेको फोहोर आफूले नसोहोर्ने समेत उहाँको भनाइ थियो ।

‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन । जिजीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन,’ उहाँको भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...