प्रधानमन्त्री प्रचण्डले चौथो पटक सोमबार विश्वासको मत लिने

31

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (७ जेठ)मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । जेठ १ मा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दाहालले सोमबार विश्वासको मत लिने तयारी गरी सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विश्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथोपटक हो । उहाँलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...