गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि…

98

काठमाडौँ, ३ जेठ । प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकारी गराउनुभएको छ ।

गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा हुनेबित्तिकै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले उहाँलाई रोक्न बाटो छेकेका थिए । अग्रस्थानमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोेडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दै हुनुहुन्थ्यो । तर, उनीहरुले बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे ।

त्यहीबीच कांग्रेस सांसद धनराज गुरुङ र एमाले अध्यक्ष ओलीबीच भनाभन जस्तो अवस्था आयो र एमालेका अरु सांसदहरु पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उहाँलाई घेरेर उभिए । धकेलाधकेलको अवस्था उत्पन्न भएपछि सभामुखले गृहमन्त्रीलाई आशनग्रहण गर्न निर्देशन दिँदै आजको कार्यसूचीका सबै विषय हटाएको सूचित गर्दै बैठक स्थगित भएको घोषणा गरेर उठेर कार्यकक्षतिर जानुभयो । त्यसपछि भनाभनको शैलीमा संवाद गरिरहेका सांसदहरु एकअर्कालाई थामथुम पार्दै हात मिलाउन थाले ।

बिहान बस्ने कार्यसूची भएको बैठक अपरान्ह ४ बजेलाई सरेको भए पनि ५ बज्नैलाग्दा मात्र सुरु भएको थियो ।

पत्र पढ्दै गरेका सभामुखले नाराबाजीबीच केहीबेर कुनै पनि शब्द उच्चारण नगरी आसनमा बसिरहनुभयो । केहीबेरको मौनतापछि फेरि अर्को पत्र पढ्न थाल्दै भन्नुभयो, ‘माननीय सदस्यहरु, म अब अर्को पत्र पढेर सुनाउँछु र बुझिनेगरी पढेर सुनाउँछु ।’

सभामुखको यो शैलीले विपक्षी सांसदहरुलाई अझ उत्तेजित हुन प्रेरित गरिरहेको देखिन्थ्यो । गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा गरिरहँदा पनि सभामुखको अभिव्यक्ति सन्तुलित नभएको प्रष्ट आभास भएको थियो ।

सहकारीको वचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएको छ । आज अपरान्हको बैठक यही विषयले निकै तनावपूर्ण भयो ।

Share This:
सम्बन्धित खबर
Loading...