काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसद्को रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गर्नुभएको छ । उहाँले बोल्न समय दिन्छौँ भन्दा गृहमन्त्री स्वयम् र नेकपा (एमाले)ले त्यसलाई अवज्ञा गरेको दाबी गर्नुभयो । साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिनुभयो ।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गर्नुभयो ।
कोइरालाले सरहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरुले धारणा राख्न अनुरोध गर्दा स्वयम् लामिछाने र नेकपा (एमाले)ले अस्वीकार गरेको बताउनुभयो ।
‘हामीले बोल्न नदिने भनेर भनेका छैनौँ । यो कुरामा तपाईंहरु क्लियर हुनुपर्यो । हामीहरुले के भनेका छौँ भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनुहुन्छ, बोल्नुस् । हामीहरुलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौँ भनेका हौँ । गृहमन्त्रीले त्यसलाई न त स्वीकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईंहरु (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यहि हो,’ उहाँले भन्नुभयो ।
नेता कोइरालाले गृहमन्त्रीको राजीनामा समेत कांग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद् अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताउनुभयो ।
यस्तै, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिव्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको कांग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काउनुभयो ।
‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली कांग्रेस डराएन । अब पनि कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ कोइरालाले भन्नुभयो ।