सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याइरहेको छ : नेता केसी

30

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्‌भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गर्नुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभामा नेता केसीले भन्नुभयो, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्‌भाव र जातिय सन्तुलनमा खलल पुग्ने कामहरु हुन थालेका छन् ।’

उहाँले नेपाली कांग्रेसले गम्भीर विषयलाई लिएर संसद् अवरोध गरेको उल्लेख गर्दै एमालेले आफूहरुलाई धम्याएको आरोप लगाउनुभयो ।

‘संविधानभित्रै बसेर संविधानलाई चुनौती दिने प्रवृत्तिहरु देखिन थालेका छन् । लोकतन्त्रमा लोकतान्त्रिक प्रतिपक्षलाई धम्क्याउने, हप्काउने र तर्साउने खालका अभिव्यक्तिरु सत्तापक्षकै एउटा घटकले दिइरहेको छ,’ केसीले भन्नुभयो ।

यस्तै, उहाँले एमाले विगतमा सबैभन्दा धेरै चार महिनासम्म संसद् अवरोध गर्ने पार्टी भएको उल्लेख गर्दै अहिले लोकतन्त्रमाथि नै खतरा आएको बताउनुभयो ।

‘अहिले हामीले नेपाली जनताको आवश्यकताको दृष्टिकोणले लाखौँ लाख सहकारी पीडितहरुको प्रतिनिधित्व गर्नको निम्ति संसदीय समितिको माग गरेका छौँ । उहाँहरुले नै सुन काण्डमा २२ दिन संसद् बन्द गरेको इतिहास सुने पनि हुन्छ । यो खालका धम्कीहरु, सर्वोच्च अदालतले गरेका निर्णयहरुलाई चुनौती दिने अभिव्यक्तिहरुले लोकतन्त्र माथिनै चुनौती दिने खालको जुन अवस्था छ, यसलाई कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...