काठमाडौँ, ३१ वैशाख । जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसद सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसद्मा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ । सरकार र प्रमुख प्रतिपक्षबीच यससम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसमेत गर्न नदिने निष्कर्ष निकालेको छ ।
यता, आज बिहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभएको थियो । उहाँहरुबीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कारबाही सहज पार्न सभामुखले सुझाउनुभएको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमबारे भएको कुराकानीमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिनुभएको थियो ।
सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिनुभएको हो ।
तर, कांग्रेसले संसदीय छानबिन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अप्ठ्यारोमा पपर्नुभएको छ । कांग्रेस नेता एवम् प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत राखेको जानकारी दिँदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताउनुभयो ।
संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिनुभएका प्रधानमन्त्री एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ ।
एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको बताइन्छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पूरा गर्न नसकिने बताउनुभएको थियो ।
तर, प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको बताउनुभएको छ । ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसको तयारी पूरा भइसकेको प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उहाँले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने बताउनुभयो । सोमबार चितवनका विभिन्न कार्यक्रममा रहनुभएका प्रधानमन्त्री अपरान्ह काठमाडौँ फर्किएर कांग्रेस नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।