समाचार टिप्पणी : किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र

22

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रिपरिषद्का सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाइसक्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दा यादव अनिवार्य सहयोगी हुनुहुन्थ्यो । उहाँको अभावमा गठबन्धन बन्न सम्भव थिएन, रातो कार्पेट बिछ्याएर बालकोट र बालुवाटारका बैठक कक्षमा यादवको स्वागत हुनेगर्थ्यो । वामपन्थी पृष्ठभूमिका यादव यो गठबन्धनमा स्वाभाविक हिस्सेदार मानिनुभएको थियो ।

मधेस प्रदेशको सरकारमा खटपट सुरु भएपछि यादवको उपप्रधानमन्त्री पदको जग हल्लिन थालेको हो । एमाले र माओवादीका शीर्षकै प्रहारबाट आफ्नो पदको जग हल्लिएको मेलोमेसो यादवले अमेरिका प्रवासमा पत्तै पाउन सक्नुभएन । उहाँ उतै रहेका बेला यहाँ जसपाको भातभान्सा अलगथलग भैसकेको थियो । अशोक राईले जसपाको छानोको आधा हिस्सा अन्तै सारिसक्नुभएको थियो । काठमाडौँ फर्किएपछि मात्र यादवले रातारात सम्पन्न भएका राजनीतिक घटनाको नालीबेली थाहा पाउनुभएको थियो ।

मधेस प्रदेशको सरकारमा उपेन्द्र यादवलाई एक्ल्याउने रणनीतिको पहिलो चरण थियो अशोक राईको आकस्मिक बिद्रोह । त्यसपछि एमाले र माओवादीको सत्ता त्याग थियो दोस्रो चरण । तेस्रो चरणको चाल उपेन्द्रलाई उपप्रधानमन्त्रीबाट बिदा गरेर पूरा भएको छ ।

यी सबै राजनीतिक घटनाक्रममा प्रधानमन्त्री दाहालले आज्ञाकारी बनेर एमाले अध्यक्ष ओलीको योजना कार्यान्वयन गरेको देखिन्छ । आफूले चाहेर राजीनामा गराएको होइन भनेर यादवलाई दाहालको सन्देश पुग्नुले यही कुराको संकेत गर्दछ । यादवलाई हटाउन आएको ओलीको सुझावलाई राजीनामा गराएर दाहालले यादवको प्रतिष्ठा जोगाउन सहयोग गरेको देखिन्छ ।

सत्ता गठबन्धनको खेल कसरी अगाडि बढ्छ भन्ने कुरा सरकारले जेठ १ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रमपछि प्रस्ट हुँदै जाने छ ।

उपेन्द्रको उदय
कुनैबेला मधेसको राजनीति तताउन अग्रणी थिए उपेन्द्र यादव । पहिलो मानिएको मधेस आन्दोलनबाट त्यहाँको राजनीतिमा अगुवा भएर प्रकट हुनुभएका उहाँले राष्ट्रिय राजनीतिमा पनि स्थान पाउन थाल्नुभयो । ठुला दलका शीर्षस्थसँग उठबस सुरु भएपछि मधेसका मुद्दा स्थापित गराउन उहाँलाई सहज पनि हुँदै गएको थियो ।

राष्ट्रिय राजनीतिमा आरोहण गर्नुअघि विराटनगरमा शिक्षण पेशामा लाग्नुभएका यादवले सन् १९९७ मा मधेसी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गर्नुभएको थियो । त्यही मञ्चबाट उहाँ मधेस राजनीतिमा होमिनुभएको थियो । राजदरबारदेखि माओवादीसम्मको नियमित उठबसपछि मधेसमा अग्रणी देखिनुभएका यादवको यात्रा भने त्यति सहज र एकनासको रहेन ।

२०६३–६४ को मधेस आन्दोलनबाट उहाँ राजनीतिको शिखरमा पुग्नुभयो । आत्मनिर्णयको अधिकारसहितको समग्र मधेस एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उहाँ राजनीतिमा दरिलो रुपमा स्थापित मात्र हुनुभएन पटक पटक उपप्रधानदेखि मन्त्रीसम्मको कुर्सीमा बसेर रजगज गर्नुभयो । नेपालमा संकटकाल चलेका बेला भारतीय जेलमा समेत बस्नुभएका उहाँ ०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा उहाँ दुई स्थानबाट चुनाव जितेर राजनीतिमा फड्को मार्नुभयो ।

पहिलो संविधान सभामा मोरङ ५ र सुनसरी ५ बाट विजयी हुनुभएका उहाँ पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाउनुभयो । दोस्रो संविधान सभाको निर्वाचनमा पनि उहाँ सोही दुई स्थानबाट चुनावमा उठे पनि मोरङमा पराजित हुनुभयो । तर, सुनसरीमा विजयी हुनुभयो ।

दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उहाँले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्नुभएको थियो । ०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उहाँ सप्तरी २ बाट निर्वाचित हुनुभयो । यससँगै उहाँ तीन पटक लगातार जितेर ‘ह्याट्रिक’ गर्ने नेतामा कहलिनुभयो ।

फुट–जुटको नियमित श्रृंखलाका कारण उपेन्द्रको अबको यात्राका बारेमा विभिन्न अड्कलबाजी सुरु भएको छ । उहाँ मधेसमा सिके राउतभन्दा पनि कमजोर भइसकेको अनुमान लगाउन थालिएको छ । सधैँ सत्ताकै लोभमा फस्दा उपेन्द्र यतिबेला कमजोर मात्र हुनुभएको छैन सत्ताबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ ।

२०६३ सालको अन्तरिम संविधान जलाएर मधेस विद्रोह गर्नुभएका उहाँ सप्तरी निर्वाचन क्षेत्र–२ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग ठुलो मतान्तरले पराजित हुनुभयो । त्यसले उहाँको राजनीतिक यात्रामा ठुलै धक्का लागेको ठानिएको थियो ।

शक्तिमा पुगेपछि पार्टी, राज्यसत्ता र अन्य अवसरमा ‘यादववाद’ लाई प्रोत्साहन गरेको उहाँमाथि आरोप लाग्ने गर्दछ । कहिले महन्थ ठाकुर र राजेन्द्र महतोसँग, कहिले डा.बाबुराम भट्टराईसँग त कहिले अशोक राईसँग मिलेर राजनीतिमा एकछत्र राज गर्नुभएका यादव अब एक्लो बन्दै जानुभएको छ ।

पटक पटक पार्टी फुटाउँदै आफूलाई केन्द्रबिन्दुमा रहने बानी परेका यादवलाई यतिबेला भने बहुसंख्यक सांसदले पनि साथ् छोडेका छन् । उहाँकै नेतृत्वमा हासिल भएको १२ प्रतिनिधि सभा सदस्यमध्ये ७ जना अशोक राईसँग सरेका छन् । पार्टीको सबै तहमा यसको असर परेको देखिन्छ ।

जनकपुरमा आगामी जेठको अन्तिम साता राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहँदा राई पक्षधरहरुले पार्टी छाडेर नयाँ पार्टी दर्ता गरिसकेकाले यादव राजनीतिक संकटमा हुनुहुन्छ ।

अशोक राईसँगै बहुमत सांसद अलग्गिनु र सत्ताबाट पनि अनपेक्षित रुपमा बिदा पाउनु उपेन्द्र यादवका लागि दुवै हातका लड्डु भुँइमा खसेजस्तो भएको छ ।

सत्ता राजनीतिमा अक्सर दुवै हातमा लड्डु पाउने गरेका यादवलाई सत्ताबाट जमिनमा झरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र अरु मधेसवादी नेताले स्वागतका लागि अनिच्छा प्रकट गरेको देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...