संसद् खुलाउन प्रधानमन्त्रीको पहल : कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

67

काठमाडौँ, ३० वैशाख । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थाल्नुभएको छ ।

कांग्रेसले संसद्‌मा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि केहीबेर अघि कांग्रेस नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

भेटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुग्नुभएको हो ।

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागेपनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचनाहरु लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । तर, छानबिन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहनुभएका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा हुनुहुन्छ ।

कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो । सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर, कांग्रेसले भने संसदीय छानबिन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...