राष्ट्रपतिका सल्लाहकार राष्ट्रहितविपरीत अभिव्यक्ति दिनु निन्दनीय : ओली

78

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रहितविपरीत बोलेको भन्दै उनीसँग झोक्किनुभएको छ ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जिीवी नेपालले सय रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने भनेर गरेको निर्णयको आलोचना गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरको प्रतिक्रिया आएपछि उहाँको प्रतिक्रिया आएको थियो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार हुनुहुन्छ ।

सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयका विरुद्ध राष्ट्रपतिका विज्ञ सल्लाहकारले नै विरोध गर्नु निन्दनीय भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली जनताले तिरेको करबाट राष्ट्रपतिको विज्ञ सल्लाहकार भएको मान्छेले नेपालको राष्ट्रियताविपरीत बोल्नुजस्तो निन्दनीय कार्य अरु नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालले आफ्नो मुद्रामा देशको नक्सा किन राख्यो भन्दै अर्को देश सोध्न आउँछ । यहाँ राष्ट्रपतिको एउटा सल्लाहकारले नोटमा नक्सा राख्न पाइन्छ र भनेर बोलीमा बोली मिलाएर दाबेदारी गर्छ । किन यस्तो भयो ? अन्तरवार्ता दिँदै हिँडेको छ । कत्रो हिम्मत नेपाललाई हेप्ने कुरामा ? नेपाली जनताले तिरेको करबाट सुविधा लिएर नेपालको विज्ञ सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियताविपरीत बोल्छ । योभन्दा निन्दनीय कुरा हुन अरु हुनै सक्दैन ।’

राष्ट्रपतिकै सल्लाहकारले भारतको पक्ष लिँदा दलालहरु राज्यका कस्ता ठाउँमा पुगेका छन् भन्ने कुराको पुष्टि भएको उल्लेख गर्दै ओलीले यस्ता तत्वलाई समयमै निर्मूल नपारे देशको अस्तित्व समाप्त हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै, अध्यक्ष ओलीले नेपाली समाज र जनतालाई सुखी र समृद्ध बनाउने सन्दर्भमा सहि चिन्तन र दृष्टिकोण अपनाएको बताउनुभयो ।

त्यसैगरी एमाले सांसद रघुजी पन्तले एमाले मुलुकको संस्कृति, जातजाती र इतिहासलाई संरक्षण गर्दै समृद्ध र उन्नत नेपाल निर्माणका लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संस्कृति, भुगोल र जातजातीलाई समृद्ध बनाउँदै र यी विषयहरुलाई संरक्षण गर्दै नेपाललाई समृद्ध र उन्नत बनाउने दिसामा कसैले काम र चिन्तन गरिरहेको छ भने त्यो नेकपा एमाले हो ।’

सरकारको प्रमु्ख गटक भएको नाताले एमाले सधैँ देशको आर्थिक र सामाजिक विकासका लागि उद्धत रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...