यादवले पार्टी कब्जा गर्न खोज्दा हामी नयाँ ढंगमा प्रस्तुत भयौँ : अशोक राई [भिडिओ]

57

काठमाडौँ, २७ वैशाख । प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढंगले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उपेन्द्र यादव अमेरिका गएको बेला खुसुक्क किन पार्टी फुटाएको भन्ने प्रश्नमा उहाँले अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सिर्जना गरिदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न भयो । उहाँ अमेरिका उड्नभन्दा अगाडि परिपत्र जारी गर्नुभएको थियो । त्यो परिपत्र त्यसको नमुना र प्रमाण हो । नेताहरुसँग छलफल नै नगरी बैठक बोलाउनुभयो । एक्कासी ८ जना कार्यकारिणीको उपस्थिति भयो दश जना आएनन् । त्यस्तै निर्णय गर्दै र सोही अनुसारको परिपत्र गरेर हिँड्नुभयो । अमेरिका गएको बेला खुसुक्क किन गरेको भन्नुहुन्छ भने उहाँले वातावरण नै त्यस्तो बनाइदिनुभयो ।’

सदस्यताको रेकर्डपनि प्रमाणीत गर्न नपाइने र महाधिवेशनका प्रतिनिधिहरु छान्ने र छानिने कुरामा पनि सन्तुलित ढंगले नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले जसपाले विधानविपरीत गएर पार्टी चलाइरहेको पनि बताउनुभयो ।

उहाँले महाधिवेशन अनियमित ढंगले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणीत गर्न नपाएको, लाखौँ मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताउनुभयो ।

महाधिवेशनका प्रतिनिधिहरु छान्ने अनुपात पनि कुनै सन्तुलित ढंगले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ ।

आजसम्म जनता समाजवादी पार्टी नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोही अनुसारको उन्नती भने गर्न नसकेको उहाँको भनाइ छ । घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफूहरु अगाडि आएको उहाँको भनाइ थियो ।

अदालतको प्रसंग कोट्याउँदै अध्यक्ष राईले पार्टी अनियमित, गैरसंवैधानिक, गैरकानुनी ढंगले दर्ताको प्रक्रिया भएको भए निर्वाचन आयोग जस्तो संवैधानिक अंग कानुनविद्को बहस समेत गराएर सहमति दिने र दर्ता गराएको भन्दै उहाँले दर्ता प्रक्रियाको बचाउ गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...