काठमाडौँ, २७ वैशाख । सरकार यतिबेला बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा छ । सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) दिउँसो २ बजे संघीय संसद्को दुवै बैठक आह्वान गरिसक्नुभएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधको बावजुद पेलेर बैशाख २ गते रातिबाट लागु हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले भोलिदेखि बजेट अधिवेशन सुरु गर्न लागेको छ । तर, प्रतिपक्षले यो अधिवेशनमा पनि अवरोध गर्ने अडान छाडेको छैन । जसको कारण हो, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग ।
सहकारी रकम अपचलनको विपषयमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानविन गर्नुपर्ने कांग्रेसको तत्कालीन सत्ता गठबन्धन टुटेपछिको प्रमुख अडान नै छ । त्यसमाथि महान्यायाधिवक्ताको कार्यालयले गत सोमबार (२४ वैशाख, २०८१) मा गृहमन्त्री लामिछानेलाई व्यक्तिगत रूपमा पठाएको पत्र सार्वजनिक भएपछि त्यसबारे चौतर्फी टिप्पणी हुन थालेका छन् ।
अझ मंगलबार गृहमन्त्री स्वयंले महान्यायाधिवक्ता कार्यालयको सोही पत्रको हवाला दिएर आफूविरुद्ध संसदीय छानबिन समिति गठन गर्नुपर्ने कारण नै नभएको दाबी गर्नुभएको छ ।
‘आम नागरिककै हिसाबले पनि म माथि अरोप लाग्यो भनेर पत्रपत्रिकामा सुन्छु, सदनमा सांसदहरुले उठाएको सुन्छु,काँही काँही मान्छेहरुले ज्ञापनपत्र दिए भन्ने सुन्छु । भएको के रहेछ, आधिकारीक रुपमा कहाँ अभियोजन लागेको छ, कहाँ मुद्दा चलेको छ, म कहाँ प्रतिवादी छु ?’ उहाँले थप्नुभयो, ‘कसैले मेरो बयानमा नाम पो लिएको छ कि कहीँ ममाथि मुद्दा चलेको छ छैन भनेर मैले काहीँ त सोध्नुपर्यो । एकदमै धेरै चर्चा भयो भनेर मैले विशेषगरी विभिन्न सहकारीहरुमा जबरजस्ती जोडिएको छ । मैले सहकारी महान्यायाधीवक्ताको कार्यालयलाई सोधे । त्यहाँबाट प्राप्त भएको पत्रमा कहीँ कतै पनि मुद्दा चलेको, कहीँ अभियोजन भएको वा तपाईँलाई कहीँ पोलेको कुरा बयानमा भएको कुरामा पनि पाइएन भनेर महान्यायाधिवक्ता कार्यालयले भनेपछि मैले सदनमा बोल्नुपर्छ । काहीँ कतै आधार भैदिएको भए समिति बनाउनुपर्थ्यो, समिति बनाउनुपर्ने सामान्य आधार त हुनुपर्यो १’ मंगलबार सञ्चारकर्मीसँग गृहमन्त्रीले सफाई पेश गर्दै भन्नुभएको थियो ।
गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि यतिबेला महान्यायाधिवक्ता कार्यालयलको सो पत्रमार्फत् लामिछानेलाई दिएको जवाफमाथि प्रश्न मात्रै उठेको छैन विवादित पनि भएको छ ।
बिहीबारबाट सुरु हुने बजेट अधिवेशनलाई सुरुबाटै सहज रुपमा सुचारु गर्न मंगलबार दिउँसो सभामुख घिमिरेले दलका शीर्ष नेतासँग दुईघण्टा लामो छलफल गरेपछि पनि कांग्रेसले गृहमन्त्रीमाथि संसदीय समिति छानबिन गर्नुपर्ने अडान छाडेन ।
तर, नेकपा (एमाले) गृहमन्त्रीको प्रतिरक्षामा देखियो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव भएको बताउनुभएको थियो ।
‘नेपाली कांग्रेसले विशेषगरी गृहमन्त्रीलक्षित भएर संसदीय छानबिन समिति गठनको जुन माग गरिरहनुभएको छ, त्यो कुरा चाहिँ सम्भव छैन,’ बर्तौलाले मंगलबार भन्नुभएको थियो ।
रास्वपाले त संसदीय दलको बैठकबाटै दलहरुले सर्वदलीय वा सत्ता पक्षीय निर्णय गरे मात्रै छानबिन समिति गठन हुने निर्णय सुनायो । यतिबेला महान्यायाधिवक्ता कार्यालयको जवाफी पत्रप्रतिको बहस बाक्लिएको छ । आफूमाथि छानबिन भए नभएकोबारे जानकारी गराउन लामिछानेले निवेदन दिएपछि जवाफमा महान्यायाधिवक्ता कार्यालयले छानबिन नभएको भनी जवाफ फर्काएको थियो ।
अहिले सोही विषयलाई लिएर महान्यायाधिवक्ताको कार्यालयको विरोध भइरहँदा कांग्रेस सांसद कान्तिका सेजुवालले त महान्यायाधिवक्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महान्यायाधिवक्तालाई हटाउनुपर्छ, न्याय दिने ठाउँमा बस्ने व्यक्ति त्यस्ता हुन्छन ?’
सांसद सेजुवालले बजेट अधिवेशनमा कांग्रेस अडान कायम राख्दै अघि बढ्ने उल्लेख गर्दै गृहमन्त्रीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
‘उहाँको नाउँमा जुन आरोप लागिराखेको छ, आरोपको सत्यतथ्य बाहिर ल्याउन त छानबिन समिति गठन गर्न दिनुपर्यो नि । मेरो लागि छानबिन समिति गठन नगर भन्न त मिल्दैन नि । उहाँ गृह मन्त्रालय जस्तो ठाउँमा बसेर, सुशासनको चाबी आफैँसँग राखेर जे मन लाग्यो त्यो गर्न पाइन्छ ?’
बजेट अधिवेशनमा कांग्रेसले आफ्नो अडान नछाड्ने स्पष्ट पारेकी उहाँले गृहमन्त्रीको नियत नै ठिक नभएको आरोप लगाउनुभयो ।
‘उहाँको व्यक्तित्व, आचरण र नैतिकता हिजो र आजमा के छ भन्ने कुरा सारालाई थाहा भैसक्यो । नैतिकता नै छैन, नियत खराब भएपछि के गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।
हालसम्म कुनैपनि व्यक्तिको बारेमा अनुसन्धान भएको छ कि छैन भनी महान्यायाधिवक्ता कार्यालयले जवाफ दिने अभ्यास नगरेको हुँदा पनि यो विषय यतिबेला विवादित बनेको छ ।