काठमाडौँ, २५ वैशाख । प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकटोक बिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताउनुभएको छ ।
सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उहाँले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसद्लाई अगाडि बढाउन सबैको प्रभावकारी भूमिका रहने भन्दै त्यो बाटो खुलेको बताउनुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रावि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएकाले छानबिन गर्न संसदीय समिति गठनको माग प्रमुख प्रतिपक्षी दल कांग्रेसले गर्दै आएको छ । यसअघि प्रतिपक्षको माग छल्न सरकारले हतार हतार संसद् अधिवेशन अन्त्य गरेको थियो । आगामी शुक्रबारदेखि सुरु हुनेगरी आह्वान भएको संसद्को बजेट अधिवेशनमा अवरोध हुन नदिन सभामुख घिमिरेले बैठक बोलाउनुभएको हो ।
बैठकमा प्रतिपक्षले आफ्नो माग छाडेन, सत्ता गठबन्धन छानबिन समिति बनाउन लचिलो भएन । बैठक उक्त विषयमा निष्कर्षविहीन भए पनि अधिवेशन सञ्चालनमा लागि दलहरु सकारात्मक रहेको भनाइ सभामुख घिमिरेको छ ।
उहाँले भन्नुभयो, ‘आजको छलफलले २८ गतेबाट सुरु हुने अबको अधिवेशन रोकटोकबिना अगाडि लानको लागि महत्त्वपूर्ण आधार प्रदान गरेको छ । शंका गर्नुपर्ने जस्तो आधार मैले देखेको छैन । आउने दिनहरुमा दलहरु गम्भीर हुनेछन् र उनीहरुले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसद्लाई अगाडि बढाउने कुरामा प्रभावकारी भूमिका खेल्नु हुन्छ । आजबाट त्यो दिशा खुलेको छ, अब त्यसमा आगडि बढ्छ ।’
यस्तै, संसदीय प्रणालीका लागि लडेर देशका ठुला राजनीतिक दलहरुले यो व्यवस्था ल्याएको हुनाले अब समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दायित्वको कुराहरु हो, जो देशका ठुला राजनीतिक दलहरु संसदीय प्रणालीको लागि लडेर यो व्यवस्था ल्याउनु भएको छ । संसद्लाई समस्या समाधानको थलो बनाउने कि अवरोधको गतिविधिको थलो बनाउने यसमा समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्नु हुन्छ । आउने अधिवेशन चल्छ भन्ने लाग्छ ।’