काठमाडौँ, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौँ जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताउनुभयो । उहाँले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिँडेको बताउनुभयो ।
यस्तै, उहाँले वर्तमान सरकारको प्राथमिकता सत्ता मात्रै भएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन । नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भइ रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ । र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ । यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ । यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ ।’
राजा आउनेवित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी दिनमा बलियो पार्टी बनाउनको लागि महिला सहभागिता आवश्यक भएको भन्दै आफ्नो क्षमता विकासमा ध्यान दिन सबै महिला कार्यकर्तालाई आग्रह गर्नुभयो ।