काठमाडौँ, १८ वैशाख । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् कांग्रेस नेता रामहरि खतिवडाले इलाम २ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिनुभएको छ ।
मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले मुलुकका लागि कांग्रेस र एमालेको ठुलो जिम्मेवारी रहेको बताउनुभयो ।
सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताउनुभयो । उहाँले साना चटकेहरुलाई मतदाताले ठेगान लगाइदिएको पनि बताउनुभयो ।
‘इलाम २ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ । महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ । मतदाताले चटके (साना दल र स्वतन्त्र उम्मेदवार)हरुलाई ठेगान लगाएको छ । ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्नेछन,’ खतिवडाले भन्नुभयो ।