इलाम–२ मा मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

18

इलाम, १८ वैशाख । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ ।

आमनिर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम–२ मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको छ । यहाँको परिणामले पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि गरेको छ ।

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत हुनुहुन्छ । उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहनुभएका मिलन लिम्बूलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक–पटक इलाम पुग्नुभएको थियो । लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझैँ झुम्मिएका थिए । तर, निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन । रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत भएको छ । यसले रास्वपाको मिसन–२०८४ मा ब्रेक लगाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

इलाम–२ को उपनिर्वाचनमा लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ ।

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईले ४०८, मंगोल नेसनल अर्गनाइजेसनका मनिकुमार लिम्बूले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...