इलाम, १८ वैशाख । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ ।
शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनुभएको हो ।
नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाउनुभयो । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बूले ५ हजार ५० मत पाउनुभएको छ ।
अघिल्लो निर्वाचनमा इलाम–२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए । तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । इलाम–२ मा एमालेले डेढ दशकदेखिको विरासतलाई निरन्तरता दिएको छ ।