इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङले २ हजार ६ सय मतको अग्रता बनाउनुभएको छ । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदै छ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ ।
जारी मतगणनामा केहीबेरअघि सार्वजनिक परिणामअनुसार नेम्वाङले ८ हजार ८९८ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहनुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पनि ४ हजार ६३४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले १ हजार ३०५ मत पाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का जित बहादुर राईले २४०, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले २०९, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४६, नेपाली जनता दलका रेशमबहादुर सुनारले ५२ मत पाउनुभएको छ ।
अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बन्नुभएको हो ।
यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई ११४ मतको झिनो अन्तरले हराएका थिए ।