कोइरालाको प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?

13

इलाम, ११ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिनुभएको छ ।

उहाँले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गर्नुभयो ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनोस् इलाम–२ को विकासको जिम्मा म लिन्छु ।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताउनुभयो ।

कांग्रेस सधैँ पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उहाँले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गर्नुभयो । उहाँले पहिचान चाहानेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गर्नुभयो ।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु विराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ,’ उहाँले भन्नुभयो, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’

सम्बोधनको क्रममा उहाँले अन्य दलहरु आफ्नो दल र तिनका नेताभन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिँडेका उल्लेख गर्नुभयो ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चुलाचुलीमा कांग्रेसकै पहलमा छिटोभन्दा छिटो मालपोत र नापी कार्यालय चुलाचुली आउने भन्दै उहाँले चुलाचुली वडा नम्बर ६ को ‘साक्फारा सडक’ र सदरमुकाम जोड्ने चुलाचुली–महमाई सडक निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचनलगत्तै सुरु हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...