नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएन : प्रदीप पौडेल

14

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गर्नुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा मंगलबार आयोजित ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबै छन् । तर, हामीसँग नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान छैन । हामीले बुझेको लोकतन्त्र यही हो त ?’

राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गर्नुभयो ।

उहाँले अघि भन्नुभयो,‘लोकतन्त्र हाम्रो प्राथमिकतामा नपरेको हो कि ? यो लोकतन्त्रले काम गर्दैन भनेर निष्कर्ष निकाल्ने स्थितिमा पुगिएको हो कि ? राजनीतिक दलहरुले जुन किसिमले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने हो त्यो नराखेको स्पष्ट देखिन्छ ।’

केही टेलिभिजनहरुले लोकतन्त्र स्थापनाका लागि सडकमा संघर्ष गरेका नेताहरुलाई सडकमा ढुंगामुडा गरेर राजनीतिमा आएका हो त नि भन्ने भाष्य समाजलाई दिन खोजेको आरोप लगाउनुभयो । लोकतन्त्रले नैतिकताको नजिर बनाउन नसकेको पौडेलको भनाइ छ ।

उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘आजको लोकतन्त्रसँग समाजको अपेक्षा के थियो । लोकतन्त्रले नैतिकताको नजिर बनाउन किन सकेन ? नेतृत्वले नैतिकताको नजिर बनाउन किन सकेन ?’

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै पौडेलले यसको विकल्प अन्य कुनै शासन प्रणाली हुन नसक्ने उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...