क्रान्ति र परिवर्तनका पक्षधरहरु एकठाउँ हुनैपर्छ : प्रचण्ड

9

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठुला ठुला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गर्नुभएको छ ।

नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले एउटा दल विशेष वा नेताको मात्रै योगदानले परिवर्तन सम्भव नभएकाले सामूहिक समझदारी र एकता आजको आवश्यक्ता भएको बताउनुभयो ।

‘हामी आपसमा एकताबद्ध नहुँदा, समझदारीका साथ अगाडि बढ्न नसक्दा ३० वर्षसम्म निरङ्कुश पञ्चायती, तानाशाही शासन सहनुपर्‍यो । हामी सबैले यो ऐतिहासिक तथ्यलाई गहिरोसाथ आत्मसाथ गर्नपर्छ । त्यसैले सामूहिक समझदारी र एकताको बलमा नै संघीय लोकतान्त्रिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्छौं,’ उहाँले भन्नुभयो ।

प्रत्येक ठुला क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रान्ति र परिवर्तनका पक्षधरहरु अझै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले जे जति उपलब्धि हासिल भएका छन् त्यो एकताको बलमा प्राप्त भएको उल्लेख गर्नुभएका उहाँले भन्नुभयो,‘जतिबेला हाम्रो एकता टुट्छ, हामी कमजोर भएका छौँ । आजको विशेष दिनमा राजनीतिक दलहरुको बीचमा सहमतिको एउटा नयाँ यात्रा सुरु गर्ने दिन बनोस् । हामी एकजुट हुँदा देशमा उत्सवको अवस्था बनेको थियो तर हामी विभाजित भयौँ हामीलाई तितो महसुस भयो ।’

Share This:
सम्बन्धित खबर
Loading...