देउवाको प्रश्न : मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?

25

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलगाएको भनेर प्रश्न गर्नुभएको छ ।

सोमबार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले मदन भण्डारीको हत्याको विषयलाई लिएर कांग्रेसलाई गाली गलौज गरेकोमा आक्रोश व्यक्त गर्नुभयो । उहाँले भण्डारीका ड्राइभरसमेत मारिएको तर पनि हत्यारा को हो पत्ता लगाउन नसक्ने अनि कांग्रेसलाई गाली गर्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौँ । तर, कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो अनि हामीले पनि जवाफ दिन परिहाल्यो नि । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन ? हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ? हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’

सभापति देउवाले अगाडि भन्नुभयो,‘हुँदा हुँदा भण्डारीको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हुनुहुन्थ्यो, यसमा दुइमत नै छैन । तर, मार्ने को हो ? अहिलेसम्म पत्ता किन लागेन ? एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोइ अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ? कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन । तर, मलाई गाली गरेर केही हुनेवाला छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...