काठमाडौँ, १० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अड्कलबाजी सुरु भइसकेको थियो । कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट सञ्चालन गरिरहेको आरोप लगाउने गरेका थिए । केही हदसम्म त्यो सत्यपनि थियो ।
उहाँकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन् । त्यतिमात्र होइन एमालेको आन्तरिक राजनीतिमा भण्डारीको आफ्नै स्वार्थ रहने गरेको चर्चा थियो ।
हाल भण्डारी निकट केपी शर्मा ओली एमाले अध्यक्ष भएकै बखत उहाँलाई पार्टी मुख्यालमै निम्ता गरेर गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई ओलीलगायतले सम्मान गर्नुभयो ।
सम्मान समारोहमा उहाँले व्यक्त गरेका अभिव्यक्ति कम्युनिस्ट आन्दोलनमा देखिएको समस्याका बारेमा केन्द्रित थियो । नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवाद भन्नेमा उहाँको जिज्ञासा थियो । उहाँको अभिव्यक्ति र सम्मानलाई लिएर कतिपयले भण्डारीलाई सक्रिय राजनीतिका निम्ति ढोका खुकुलो बनेको अडकल सुरू भएको छ ।
एक वर्ष पहिले नै शीतल निवास छाडेर आफ्नै निजी निवासमा बसाइ सर्नुभएकी भण्डारीले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुलाई पनि विशेष अर्थमा हेरिएको थियो । जसका कारण ६१ वर्षीया भण्डारीलाई सक्रिय राजनीतिमा आउन सहज बनाइसकेको थियो ।
निजी निवास सर्दैगर्दा पनि उहाँका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार राजनीतिमा फर्किने निर्णय गर्न सक्ने बताउनुभएको थियो । तर, भण्डारीले सबैकुरा परिस्थितिले निर्धारण गर्ने बताउँदै आउनुभएको छ ।
सोमबारको विशेष सम्मान मात्र होइन भण्डारीलाई राजनीतिमा ल्याउने प्रशस्त आधारहरु तय हुँदै गएका छन् । आउँदो जेठमा हुने राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने तयारी भइरहेको एमाले निकट स्रोतले बतायो । १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमै बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको बताइन्छ ।
एमालेभित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन जबरजस्त प्रयास गरिरहेको बुझिन्छ । ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्त पात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ ।
२०७९ फागुनमा शीतल निवास छाडेर चपली सर्नुभएकी भण्डारी पार्टीका आधिकारिक कार्यक्रममा सहभागी हुनुभएकी थिइनन् । सोमबारको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिक विश्लेषकहरुले राजनीतिमा आउने नभइ सम्मानीत पोजिसनमा बस्नुपर्ने सन्देश दिन खोजेको भनेर बुझेका छन् । राजनीतिमा फर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।
भण्डारीको इच्छा पनि राजनीति नभइ सामाजिक कार्यक्रमा सक्रिय हुने रहेको बुझिन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको इच्छा रहेको उहाँ निकटका व्यक्तिहरु बताउने गर्छन् ।
तर, जनवर्गीय संगठनकै कार्यक्रममा निम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्नेहरु पनि प्रशस्त छन् । पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि उहाँलाई सक्रिय राजनीतिमा आउने आधारहरु कार्यकर्ताले देख्ने गरेका छन् ।
सक्रिय राजनीतिमा आउने आधारहरुका रुपमा भण्डारीका विगतका दिनहरुले पनि प्रष्ट पार्ने गरेको छ । किनकी पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनपछि तत्कालीन अध्यक्ष ओलीपछिको शक्तिशाली उपाध्यक्षका रुपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरत गर्नुभएको थियो ।
उहाँले १०औँ महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्त प्रयास गर्नुभएको थियो । तर, ओलीको चाहना, परामर्श र प्रस्तावमा दुवैपटक राष्ट्रपति बनेपछि उहाँले राजनीतिक बहसलाई बिट मार्नुभएको थियो। तर कार्यकाल समाप्त भएर निजी निवास प्रवेश गर्नुअघि धेरै कार्यकर्ताले सक्रिय राजनीतिमा आउन जोडबल गरिरहेका थिए र छन् ।