माधव नेपालले भने- कसैको धाकधम्की सहन जन्मेका होइनौँ

41

काठमाडौँ, १० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिति सहज नभएको बताउनुभएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितीमा सजह अनुभव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिक्ने हो ? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ । यति भनौँ परिस्थिति सहज छैन । हामीले सहज ठानिरहेका छैनौँ । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौँ । समाजमा जन्मेका पनि होइनौँ । कसैको दास बन्ने हाम्रो नियत पनि होइन ।’

यस्तै, उहाँले देशभक्ति र कम्युनिस्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको सम्वाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी देशभक्ति आन्दोलनलाई अगाडि बढाउन चाहन्छौँ र त्यसको आवश्यकता अझै पनि छ । कम्युनिस्ट आन्दोलनले जनताको माझमा लोकतन्त्रको आवाज बुलन्द गर्नुपर्छ । निरङ्कुश साशनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिष्ट आन्दोलनकै हो । लोकतन्त्रको सम्वाहक पनि कम्युनिस्ट पार्टी नै हुन् । जनताका जनजीविकाको सवालमा जनताको पक्षमा हामी लाग्नुपर्छ । परिवर्तनको सम्वाहक जनता हो भन्ने सन्देश प्रवाह गर्न नसकेसम्म परिवर्तन सम्भव हुँदैन ।’

नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवर्द्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिस्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...