एमाले प्रतिनिधि परिषद् बैठकमा १५ बुँदे प्रस्ताव पारित

17

काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा आइतबार एमालेका उपमहासचिव विष्णु रिमालले पेस गर्नुभएको १५ बुँदे समसामयिक प्रस्ताव बैठक हलबाट पारित भएको हो ।

उहाँले अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पार्टीका सबै सदस्यलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)लाई एउटा जटिल अवस्था र चुनौतीका बाबजुद यो अवस्थासम्म ल्याइपुर्‍याउने अध्यक्ष केपी शर्मा ओलीलगायत सिंगो नेतृत्व पंक्क्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ । अगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न सबै कमरेडहरुलाई आह्वान गर्दछु ।’

गत फागुनदेखि बनेको रास्वपासहितको सत्ता सहकार्यको गठबन्धनलाई स्वागत गर्दै वर्तमान सरकारलाई सफल बनाउने घोषणा समेत बैठकले गरेको छ ।

पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकले गत फागुन २१ गते निर्माण भएको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच भएको सत्ता सहकार्यप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।’

बैठकले सत्ता सहकार्यलाई कमजोर पार्ने, मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन आग्रह गर्दै राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई थप जोखिममा पार्ने काम हुन नदिन सत्ता समीकरणका सबै दलहरुलाई आग्रह गरेको बताउनुभयो ।

बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध अभियान चलाउन र कानुनका नजरमा सबै बराबर भन्ने व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको उपमहासचिव रिमालले बताउनुभयो ।

बैठकको पहिलो दिन शनिबार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएका थियो ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ–आफ्ना प्रतिवेदन पेस गर्नुभएको थियो । ६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...