बाबुराम भट्टराईले जनतालाई धोका दिए : महिन्द्र यादव

11

काठमाडौँ, ९ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यादवसहितको समूह मोआवदी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिनुभएको थियो ।

भट्टराईको नजिकका तीन जनाले उहाँको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गर्नुभयो ।

‘मैले डा.साहेबलाई भनेको थिएँ डा.साहेब तपाईं चुनाव लड्नुहोस् । म चुनाव लड्छु दुई वटा सिट हुन्छ । जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ । उहाँले मान्नुभएन । उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौँ । पार्टी चल्नै सक्दैन,’ यादवले भन्नुभयो, ‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौँ, अब यो देशको राष्ट्रवादी शक्तिहरुलाई जोड्नुपर्छ । देशभक्त पार्टीसँग एकता गर्ने आधारमा जाऔँ । उहाँले जे जे भनेपनि मलाई आलोचना गर्नु छैन ।’

उहाँले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गर्नुभयो । ‘एउट कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको परिवारिक सदस्य तीन जनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ,’ उहाँले भन्नुभयो, ‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । मैले भने तपाईं चुनाव लड्नुहोस्, किन लड्नुभएन ?’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताउनुभयो । १० प्रदेशमा सहमतिको अधुरो काम पूरा गर्न माओवादीसँग एकता आवश्यक रहेको भनाइ उहाँले राख्नुभयो ।

‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ,’ उहाँले भन्नुभयो ।

माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उहाँले बताउनुभयो । मुलुकलाई १० प्रदेश आवश्यक रहेको जिकिर गर्नुहुँदै उहाँले त्यो पूरा गराउन अघि बढ्नका लागि पनि पार्टी एकता आवश्यक रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...