राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपधानमन्त्री श्रेष्ठ

24

काठमाडौँ, ८ वैशाख । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुने गरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

गोरखा पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्‍याउन केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगतले पनि प्रयत्न गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गर्नुभयो ।

‘सामाजिक आर्थिक रूपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने बताउनुभयो ।

पछिल्लो समय विश्व परिस्थितिमा ठुलो बदलाव आएको उल्लेख गर्नुहँदै उहाँले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठुलो योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको दाबी गर्नुभयो । पेसागत धर्म निर्वाह गरेर काम गर्न पत्रकारलाई सुझाव दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक विषयवस्तुलाई जनतासमक्ष ल्याउन आग्रह गर्नुभयो ।

उहाँले समाज रूपान्तरणको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिनुहुँदै समाजले प्रकाशन गरेको भित्ते पात्रो सार्वजनिक गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...