नेकपा एसलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल

33

काठमाडौँ, ८ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताउनुभएको छ । गृहजिल्ला रौतहटमा रहनुभएका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिनुभयो ।

आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकाले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिनुभएको हो ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष नेपाल त्यता पुग्नुभएको हो । त्यसक्रममा उहाँले पूर्वप्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्त्व रहेकाले हल्कामा नलिन सुझाव दिनुभयो ।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थप्नुभयो, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेशमध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उहाँले भन्नुभयो, ‘त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, ।’

रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाँडै द्रूत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...