इलाम, ७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताउनुभएको छ ।
इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उहाँले आफूले बेइमानहरुसँग कहिल्यै पनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पार्नुभयो ।
तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाउनुभयो । ‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उहाँले भन्नुभयो,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाइनको चिन्ता नलिनुहोस् ।’
उहाँले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाउनुभयो । उहाँले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताउनुभयो । चुनावी अभियानका क्रममा उहाँले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई विजयी गराउन अनुरोध गर्नुभयो ।