एक थोपा रगत नबगाइ प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौँ : उपसभापति वाग्ले

39

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गर्नुभएको छ ।

काठमाडौँमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उहाँले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी संघीयताविरोधी होइनौँ । अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो । यो चाहिँ हामी सुधार गर्छौँ गर्छौँ । यो सबै भत्काउन आएका हैनौँ । वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरुमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८८४ जना सांसद पालिरहेका छौँ । ५८५ सांसद त प्रदेशमा नै छन् । उनीहरुको काम देखिएको छैन । उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामर्थ्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौँ ।’

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने धारणा उहाँले राख्नुभयो । युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न । यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न । यसलाई देश सेवाको रुपमा काम गर्न चाहन्छु भन्नेहरुलाई स्थान दिनेगरी रास्वपा उपलब्ध भएको छ । हाम्रो विविधतापूर्ण समाज छ । जनजाति साथिहरु पनि अटाउनुपर्छ, महिला आदि हुनुपर्छ । इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हामो स्थान दिन चाहन्छौँ भनेरै उम्मेदवारी दिएका छौँ । एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...