काठमाडौँ, ३ वैशाख । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व.थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आचोलना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्नुहुँदै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ ।’
उहाँले थप्नुभयो, ‘एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ । एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ । चाइना आफैँ पनि विश्व शक्ति भयौँ भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ । यी दुवै देशमा आर्थिक विकास तिव्र रुपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रुपमा आएको छ ।’
लोहनीले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताउनुभयो ।
उहाँले एकले अर्कालाई आलोचना गर्ने भन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।