काठमाडौँ, २ वैशाख । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराउनुभयो ।
बैठकमा सभामुख घिमिरेले संसदीय काम कारबाही सुनाउनुहुँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घन्टा ५५ मिनेट संसदीय काम कारबाही भएको जानकारी समेत गराउनुभएको थियो ।
संघीय संसद्
प्रतिनिधि सभा
तेस्रो अधिवेशन
भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी
मा.सदस्यहरु, प्रतिनिधि सभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भइ आज २०८१ साल वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु रह्यो । जसमध्ये २३ दिनहरुमा २३ पटक बैठक बसी जम्मा ८१ घन्टा ५५ मिनेट ससंदीय काम कारबाहीमा व्यतित भयो ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (५)को व्यवस्था बमोजिम मिति २०८० फागुन ६ गते र चैत ६ गतेको बैठकहरुमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रममा २६ जना मा. सदस्यहरुले सोध्नु भएको प्रश्नको सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिनुभएको थियो ।
सभाको पहिलो बैठकमा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई मिति २०८० फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो । त्यसैगरी सभाको पहिलो बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेश भएको थियो ।
मिति २०८० फागुन ३० गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ को उपनियम (४) बमोजिम राख्नुभएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो ।
सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौताहरु मध्ये ‘विमस्टेक वडापत्र’लाई मिति २०८० चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथिको सामान्य छलफल समाप्त भइसकेको छ ।
त्यसैगरी मिति २०८० फागनु १४ गतेको बैठकमा पेश भएको आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि मिति २०८० चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरुमा छलफल गरिएको थियो ।
सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा ५ वटा सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ समितिमा विचाराधीन रहेको छ, ‘संघीय निजामति सेवा विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ सभामा प्रस्तुत भएका छन् भने ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ दर्ता मात्रको स्थितिमा रहेको छ ।
साथै सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक” माथि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ ।
त्यसैगरी यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैरसरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको छ । त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । यसरी सभाबाट यो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएका छन् ।
त्यसैगरी प्रतिनिधि सभाको चालू अधिवेशनमा मा० सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा मौखिक र २ वटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएकोमा सभाको २०८० चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरुको सम्बन्धित मा. मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो ।
यस अधिवेशनमा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको “महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०” पेश भयो ।
सभाको यस अधिवेशनमा प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारी र संविधान सभा सदस्य केशव कुमार बुढाथोकीको निधन भएकोमा शोक प्रस्ताव पारित भएका थिए ।
सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयहरुमा सभाका मा. सदस्यहरुले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाहरुको सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पटक, माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले दुई पटक र माननीय खानेपानी मन्त्री श्री महिन्द्र राय यादव एवं माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिनुभएको थियो ।