राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

42

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष २०८१ को मूल जिम्मेवारी भएको बताउनुभएको छ ।

विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष विसं.२०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डलले विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु मूल जिम्मेवारी भएको बताउनुभयो ।

‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु विसं. २०८१ का मूल जिम्मेवारी हुन्’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ । उक्त प्राथमिकता र प्रयासमार्फत् देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विस्वास दाहालको छ ।

नयाँ वर्षको सुरूवातसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्ने विश्वास पनि प्रचण्डको छ ।

प्रधानमन्त्री प्रचण्डले विगत् वर्षका अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैमा आह्वान पनि गर्नुभएको छ ।

संघीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धि भएको दाबी दाहालको छ ।

Share This:
सम्बन्धित खबर
Loading...