सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

11

काठमाडौँ, ३० चैत । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । प्रदेशसभाका बहुमत सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । तर, सत्ता गठबन्धन र कांग्रेस दुवैले बहुमत पुर्‍याउन नसकेर सरकार गठन हुन सकेको छैन । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ ।

सो पार्टीका सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै त्यसकालागि छलफल थाल्ने बताएका छन् । सांसद लक्ष्मणकिशोर चौधरीले संसदीय दलमा बहुमत सदस्यहरूले आफूलाई मुख्यमन्त्रीकारुपमा अघि सारेर सरकार गठनको पहल गर्ने निर्णय भएको बताउनुभयो ।

प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद थिए । यसअघि पार्टीले सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ भने अब ६ जना सांसद छन् । चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै चार सांसदले हस्ताक्षर गरिसकेका छन् ।

पार्टी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको द्वन्द्वका कारण सुदुरपश्चिममा नागरिक उन्मुक्तिले राजनीतिक निर्णय लिन सकिरहेको छैन । अध्यक्ष श्रेष्ठ वर्तमान सत्ता गठबन्धनमै सामेल भएर अघि बढ्नु पर्ने पक्षमा हुनुहुन्छ भने रेशमले कांग्रेससँग मिलेर अघि बढ्ने नीति लिनुभएको थियो ।

अहिलेकै अवस्थामा सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिना सरकार बन्न बहुमत पुग्दैन । यस्तोमा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी निकै बलियो देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...