काठमाडौँ, २९ चैत । पूर्वमन्त्री दिपक बाँस्कोटाले नेपाली राजनीतिमा करिब ५२ वर्ष बिताउनुभयो । नेपालको सहकारी आन्दोलनमा परिचित बाँस्कोटा २०५१ को संसदीय निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भइ शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा गृह राज्यमन्त्रीका रूपमा काम गर्नुभयो ।
विगत केही वर्षयता बाँस्कोटा सक्रिय राजनीतिमा हुनुहुन्न । उहाँलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा,‘ मैंले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ फर्काउनुभयो ।
‘मैंले करिब ५२ वर्षअघि वीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ । सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँच दिन खाना खानु भएन । गाउँलेहरु चकित भए । यस्तो हुनुको पछाडि मलाई गोली हानेर मार्छन् भनेर हो । त्यसबेला मैले जोखिम मोलेर प्रजातनत्रका लागि राजनीति आउने निधो गरेको थिएँ,’ उहाँले राजनीति प्रवेश गर्दाको सुरुवातीको चरण सुनाउनुभयो ।
पाँच दशक क्रियाशील राजनीतिमा रहँदा असल कामभन्दा पनि नेताहरुको नियतमा खोट पाएको बताउनुहुँदै उहाँले भन्नुभयो,‘मैंले अहिलेसम्म बिपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जस्तो उचाइ भएको नेता नै भेटिन । बिपीदेखि शेरबहादुर देउवासम्मलाई झेलेको छु तर पछिल्लो समय राजनीतिमा विकृति भित्रियो । सक्रिय हुने अवस्थै रहेन ।’
राजनीतिमा सक्रिय नभएपनि टाढा बसेर सुझाव दिइरहेको उहाँले बताउनुभयो । ‘म राजनीतिमा सक्रिय हुने परिस्थितिमा छैन । तर, टाढा बसेर सुझाव दिइरहेको छु । हालैको कांग्रेस महासमिति बैठकमा पनि २३ बुँदे सुझाव पठाएँ । सुझाव ग्रहण गर्ने नगर्ने नेताहरुको काम हो,’ उहाँले भन्नुभयो ।
बिपी कोइरालाले भनेको र लेखेको कुरा बुझेर राजनीतिमा आएको बताएका बाँस्कोटाले भन्नुभयो,‘म राजीनामा दिएको थालमा चुठ्ने काम गर्दिनँ । युवा पुस्तालाई राजनीति बुझेर सही गतिमा हिडाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।
२०७८ भदौको कृष्णअष्टमीका दिनबाट राजनीतिबाट विश्राम लिनुभएका बाँस्कोटाले राजनीतिमा चरम विकृति रहेको सुनाउनुभयो। विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गर्नुभएका उहाँ ०६४ पछि विस्तार राजनीतिबाट टाढा हुन थाल्नुभएको थियो ।
‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी नहुने उहाँको प्रतिवद्धता छ । बिपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा लाग्ने उहाँले सुनाउनुभयो ।
वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, संघ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको योजना छ । नेपाल महर्षि वैदिक फाउण्डेसनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २५ वर्षदेखि उहाँ क्रियाशील हुनुहुन्छ ।
नेपालको सहकारी अभियानका एक जुझारु अभियन्ताको अलग्गै पहिचान बनाउनुभएका उहाँ विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षाको अभियानमा क्रियाशील हुनुहुन्छ । उहाँ राष्ट्रिय सहकारी महासंघ लि.का पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।