काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताउनुभएको छ । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उहाँले बताउनुभयो ।
राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उहाँले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थपलिया राजनीतिलाई सेवाका रुपमा लिने व्यक्तित्व भएको भनाइ राख्नुभयो । थपलिया समाजसेवामा कुशल व्यक्तिसँगै राजनीतिज्ञ पनि भएको भन्दै राजनीतिलाई पेसा नभइ सेवाका रुपमा प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति लेखपढले मात्र हुँदैन । राजनीति अहिले पछिल्लो दिनमा एकप्रकारले विकृत जस्तो भएको छ । राजनीति भन्नेवित्तिकै ओढ्ने ओछ्याउने व्यवसायजस्तो, छोराछोरी पाल्ने पेसाजस्तो मानिराखेको बेला राजनीति गर्ने मान्छे भन्नेबित्तिकै डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेसा होइन सेवाको रुपमा अवलम्बन गर्नुभएको थियो ।’
पुस्तकका लेखक गंगादेवी थपलियाले पुस्तक आफैँले विमोचन गर्न पाउँदा भाग्यमानी ठानेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले यो मेरो पुस्तक विमोचन गरेर तपाईंहरुलाई बाँड्न पाएँ, म भाग्यमानी रहेछु भन्ने ठानेको छु । मेरो जन्मसिद्ध भएको अनुभव गरेको छु ।’