काठमाडौँ, २८ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित हुनुभएको छ ।
बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हा । उहाँलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी पुडासैनीले १६ मत प्राप्त गर्नुभयो ।
विजयी भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म आफ्नो व्यक्तिगत तथा राष्ट्रिय सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३३८ मत प्राप्त गर्दै उहाँले कांग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गर्नुभएको थियो ।